बालबालिकाको खानामा जति थोरै चिनी त्यति राम्रो


९ आश्विन २०७९, आईतवार
child 1

बीबीसी । अभिभावकहरुले ससाना बालबालिकाको खानामा चिनीको मात्रा एकदम कम गर्नुपर्ने र गुलियो बढी खाने बानीबाट जोगाउन धेरै सागसब्जी खुवाउनुपर्ने बालस्वास्थ्य विद्हरुले बताएका छन् ।

विशेषगरी दुई वर्ष मुनिका शिशुहरुलाई खुवाइने पाउडर युक्त खानामा ‘नो एडेड सुगर’ लेखिएको भएपनि तिनमा मह र फलफुलको रसबाट अधिक चिनीयुक्त पदार्थ हुने गरेको बाल स्वास्थ्य सम्बन्धी नयाँ रिपोर्टमा उल्लेख गरिएको छ ।
यस्तोमा अभिभावकले बालबालिकालाई तितो स्वादका खानेकुरा पनि बेलाबेलामा खुवाउने गर्नुपर्ने रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थले जनाएको छ ।

यसले उनीहरुमा गुलियो मात्र खान खोज्ने बानी विकास हुन नदिने, डायटमा सुधार ल्याउने र मोटोपना लगायत समस्याबाट जोगाइ स्वस्थ राख्ने रिपोर्टमा बताइएको हो । यसरी बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउन यो तरिका अत्यन्तै उपयोगी हुने बताइएको छ । यसअघि बेलायतमा ससाना शिशुहरुको खानामा चिनीको मात्रा सिमित गर्नकै लागि कानुन निर्धारित गरिनुपर्ने प्रस्ताव अघि सारिएको थियो ।

यो नयाँ रिपोर्टका अनुसार भने २ वर्ष भन्दा कम उमेरका बालबालिकालाई चिनीयुक्त पेय पदार्थ खुवाउनु हुँदैन र प्राकृतिक रुपमा ताजा फलफुलमार्फत मात्र चिनी सेवन गराउनुपर्दछ । रोयल कलेजकी न्युट्रिसन विद् प्रोफेसर म्यारी फ्युट्रेल भन्छिन्, ‘बालबालिकाको दाँत र शरीरको ऊर्जा प्रणालीमा कम असर पार्न चिनीको मात्रा कम गराउन आवश्यक छ ।’

उनका अनुसार बच्चाहरुले गुलियो कुरा खान खोजेपनि अभिभावकले नियन्त्रण गर्ने गर्नुपर्छ र हामीले खान दिने हो भने शिशुहरु थरीथरीको स्वाद चाख्न प्रायः तयार हुन्छन् । तिनका लागि नयाँ स्वाद उत्साहजनक हुन्छ र स्वास्थ्यका हिसाबले पनि त्यो महत्वपूणर् मानिन्छ । त्यसैले सानै उमेरदेखि बच्चाहरुलाई ब्रोकाउली, साग जस्ता सब्जी खुवाउने गर्नुपर्ने उनले बताइन् । त्यसैले सबै अभिभावकहरु बच्चामा चिनीको प्रभावबारे जानकार रहनुपर्ने उनको भनाइ छ ।

अत्याधिक चिनी दाँत बिग्रनुको प्रमुख कारण रहँदै आएको छ र पाँच वर्षका एक चौथाइ भन्दा बढी बालबालिकामा यसको समस्या हुने गरेको छ । वास्तवमा चिनीले दुई वर्ष वा सो भन्दा माथिका बालबालिकालाई दैनिक पाँच प्रतिशत भन्दा धेरै ऊर्जा दिँदैन र त्यो भन्दा कम उमेरकालाई समेत फाइदा गराउँदैन । तरपनि हामीले उनीहरुलाई सिमित भन्दा दुई गुणा बढी चिनी सेवन गराइरहेका हुन्छौँ जसलाई स्वास्थ्यका हिसाबले राम्रो मानिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७