नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने


९ आश्विन २०७९, आईतवार
bus park

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिए ।

यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्न समेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्यरूपमा रेकर्ड राक्नुपर्ने भएको छ ।

होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् ।

मोटरसाइकल चोरी गर्ने रसुवाका तामाङ पक्राउ

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका-२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका-३ घर भई काठमाडौँको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । हराएको वास्तविक नम्बर बागमती प्रदेश०२-०२८प ७७८५ भए पनि उक्त नम्बर परिवर्तन गरी बा ९० प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ ।

उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका-३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ । भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७