उत्तरी नाका रसुवागढीबाट आयात बढ्दै


९ आश्विन २०७९, आईतवार
rasuwagadhi

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल २१ वटासम्म कन्टेनर आउन थालेको जनाइएको छ ।

सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको संख्यामा पुग्ने गरेका थिए । कोभिड-१९ को सङ्क्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुर्‍याइ छाड्ने गरेका छन् ।

चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्ट समेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ । चीनमा कोभिड सङ्क्रमणपश्चात बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरू भएको छ, नौ र १४ हँुदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान पुर्‍याउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।

गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा एक सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान पुर्‍याइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

हालसम्म आयात भएका सामग्रीमा एक सय १९ टिपर तयारी पोशाक, ३५ टिपर नेपालमा सञ्चालित जलविद्युतका उपकरण र चार टिपर ओखर रहेको बताइएको छ । स्याउ भने शनिबारसम्म आएको छैन । कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए ।

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौँ पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७