शहर र बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : पर्यटनमन्त्री श्रेष्ठ


९ आश्विन २०७९, आईतवार
Jeevanram paryatanmantri
फाइल फोटो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन् ।

आइतवार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूणर् रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए ।

उनले पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए ।

उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ’, उनले भने, ’पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ । अब क्रमशः देशको पर्यटनको काम बढ्नेछ, पर्यटनबाट आर्थिकोपार्जन हुनेछ । रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचना स्थापना गर्ने योजना बनाएको बताए । दद्धश्रेष्ठले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउनेबारे पनि मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर हघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताए ।

‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिहरुलाई भुल्दै गएका छौं । नयाँ घर निर्माण गर्दा आधुनिकशैली अपनायौँ । जसले गर्दा हिजोको पहिचान मेटिँदै छ । हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो। हिजोका सम्पदाका शैलीलाई त्यही रुपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ। यो बाटोमा सबै घरहरु पुरानै शैलीमा जाओस् भन्ने योजना बनाएका छौं । एशियाली विकास बैंकले यसमा अध्ययन गरेर संलग्न हुन चाहन्छौँ भन्नेकुरा राख्नुभएको छ, यो एउटा नयाँ सम्भावना छ ।’

उनले भने, ‘हामीले पनि हाम्रो पहुँचबाट कसरी अघि बढाउनुपर्छ नेर सोचेका छौं । यो काम निरन्तर अघि बढ्दै जानेछ । महानगर र आम नागरिकको सहयोग चाहिन्छ । निर्माणसँगै यो सिंगो क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सम्भावना देखिएको छ । हामीले चासो नदिएका कारण पर्यटनलाई बढाउन सकेका छैनौ । पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर जान सकेनौं ।’

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ। पर्यटकहरुलाई शान्तिपूणर् रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे ।

उनले पुराना सीप, शैली,पेशा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरुलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेको बताए । मन्त्री श्रेष्ठले पर्यटकहरुले शान्तिपूणर् रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७