माओवादीमा विद्रोह सुरु : धनकुटाका सबै माओवादी नेताहरुले दिए सामूहिक राजीनामा

हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने


९ आश्विन २०७९, आईतवार
hemaraj bhandari

काठमाडौं : नेकपा माओवादी धनकुटा अन्तर्गत पोलिट्ब्यूरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजिनमा दिएका छन्। गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् । जिल्लाका निवर्तमान संयोजक राईदले असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।

बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ । एउटा मात्रै संघीय संसद क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङ्गले गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारीको दाबेदारी गरिरहेका छन्। माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय भएको पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले बताए ।

गठबन्धनमै जसपाले पनि धनकुटामा दाबी गरेको थियो । सीट बाँडफाँट कार्यदलमै रहेका जसपा नेता रकम चेम्जोङको लागि जसपाले अडान लिएको थियो । धनकुटामा वाम गठबन्धन भएका बेला पनि तीनै सीट एमालेले लिएर माओवादीले अघिल्लो चुनावमा मतदाताको भूमिकामात्र निर्वाह गरेका थिए ।

CPN maoist dhankuta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७