बडादशैं शुरु : आज घटस्थापना, साइत बिहान १०ः२३ बजे

विजयादशमीको साइत असोज १९ गते ११ः५१ बजे


१० आश्विन २०७९, सोमबार
dashain

काठमाडौं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैं पर्व आज (सोमबार) देखि शुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आज घर घरमा घटस्थापना गरेसँगै शुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडादशैंको पहिलो दिन आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसँगै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रूपमा सेवन गर्ने गरिएको छ ।

घटस्थापनाको साइत बिहान १०ः२३ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निणर्य गरेको उनले बताए ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

विजयादशमीको साइत असोज १९ गते ११ः५१ बजे

नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । कुनै वर्ष तिथि घटेर आठ रात र नौ दिनको मात्र हुने गर्छ । तिथिको घटबढका कारण आठ राता र नौ दिनको नवरात्र हुने समयमा खोपेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।

आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १९ गते देवी विसर्जनको साइत बिहान १०ः३४ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ः५१ बजेको साइत उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइ दिने धार्मिक विश्वास छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूणर्िमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । यस वर्ष असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

हनुमानढोकाको दशैं घरमा विशेष पूजा गरिँदै

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए । दशैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन । हनुमानढोकाको दशैं घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

बढ्न थाले थात थलो फर्कने यात्री

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका व्यक्ति दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।

काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । नयाँबसपार्क, कलङ्कीलगायत स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भिड देखिन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ-आफ्ना घर जान्छन् । देश विदेशबाट गाउँ फर्कनेहरु बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैंको चहलपहल शुरु हुन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७