दशैंमा सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने, आजदेखि देशभर लागू


१० आश्विन २०७९, सोमबार
bus park

काठमाडौं । दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आज (सोमबार) बाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।

दशैंको पूणर्िमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ ।

दशैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो संख्या २० लाख पुग्नसक्ने बताए ।

काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय शहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासङ्घले जनाएको छ । उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खाली जस्तै फर्कन पर्छ ।’

सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए । अति आवश्यक पर्ने सामान ल्याउने बाहेक १८ र २० चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । कतिपय यात्रु यो महिनाको शुरुदेखि नै जान थालेका छन् भने यो संख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए ।

दशैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्र यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँ ठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोध समेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७