कांग्रेस संस्थापन इतरले शुरु गर्‍यो आन्दोलन, सानेपामा धर्ना दिने


१० आश्विन २०७९, सोमबार
shekhar samuha

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै नेपाली कांग्रेसको संस्थापन इतर समूहले आन्दोलनको घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो ।

आज (सोमबार) ठमेलस्थित एक होटेलमा बसेको कांग्रेस संस्थापन (कोइराला) समूहको दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन् । भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलनको घोषणा गरेको नेता गुरुराज घिमिरेले बताएका छन् ।

‘पार्टीभित्र सबैलाई समान हक र न्यायका लागि हाम्रो संघर्ष हो, त्यसैका लागि निरन्तर दबाबका कार्यक्रम गर्दै आएका हौँ,’ उनले थपे, ‘अब बुधबार दिउँसो १२ बजेबाट पार्टी कार्यालयमा धर्ना बस्छौँ । बिहीबार खबरदारी सभासहित शुभकामना अदान प्रदान कार्यक्रम गर्छौ, र त्यसपछि पनि समानुपातिकको सूची सच्याइएन भने हामी कठोर ऐतिहासिक निणर्य लिन बाध्य हुनेछौँ ।’ उनका अनुसार पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम छ । यसबीचमा नेता कोइरालासहित पदाधिकारीहरूसँग छलफल गर्ने भेलाको निष्कर्ष छ ।

नेता भुपेन्द्रजंग शाहीले पार्टीले समान अवसरको वितरण नहुने अवस्था भए विद्रोहको विकल्प छैन भने भेलाको निष्कर्ष रहेको बताए । कोइराला समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत सिट दाबी गरिरहेका बेला संस्थापन पक्षले करिब १० प्रतिशतमात्रै सिट दिएपछि कोइराला समूहका नेता थप आक्रोशित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७