दशैं मनाउन घर फर्किनेको लर्को


१० आश्विन २०७९, सोमबार
sima

नेपालगञ्ज । दशैं शुरु भएसँगै घर फर्किने नेपालीको नेपालगञ्जस्थित जमुनाहनाकामा घुइँचो लागेको छ ।
दशैं मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । नेपालगञ्जस्थित जमुनाहनाका भएर दैनिक पाँच हजार व्यक्ति स्वदेश भित्रिरहेको जमुनाह प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।

उनका अनुसार, अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै छ । दशँै, तिहार जस्ता महत्वपूणर् चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुगेका नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेका छन् ।

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवा रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जाने महत्वपूर्ण चाडपर्व र खेतीपातीका समयमा भने स्वदेश फर्किने गर्छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमूलो समेत राम्रो नपाइने भएपछि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या अधिक छ ।

दशैँका बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न सुरक्षाकर्मी परिचालन गरिनुका साथै भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन र उनीहरुको गुनासो सम्बोधनका लागि जमुनाह नाकामै नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

दशैँलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल-भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, बैजनाथको सम्झनाचोक र चिसापानी, खजुराको धनौली र राप्तीसोनारीको कुसुममा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७