मनास्लुमा हिमपहिरो : पाँच नेपाली आरोही बेपत्ता

१२ घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर


१० आश्विन २०७९, सोमबार

गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका लागि गएका पाँच नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिम पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् ।

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । उनीहरु सबै जना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए ।

बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको एसपी केदार खनालले जानकारी दएका छन् । मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन् । प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो ।

चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७