दशैंमा २० लाख जनाले काठमाडौँ उपत्यका छोड्ने


१० आश्विन २०७९, सोमबार
bus2020 03 22 06 25 01

काठमाडौँ । बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ ।

यस पटक दशैं झण्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या कम थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको संख्या २० लाख जनाको हाराहारीमा रहेको तथ्याङ्क छ ।

दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोङ्गबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान गाडी नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।

गाडीको चाप र भिडभाडका कारण हुन सक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दशैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले गाडी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी गाडी चलाएमा खबर गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले पनि दशैँका लागि पर्याप्त गाडी उपलब्ध हुने प्रतिबद्धता जनाउँदै गाडीको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने गाडीको तुलनामा बाहिर जाने गाडी र यात्रुको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७