समानुपातिक सूचीमा त्रुटि छन् तर, पक्षपात भएको छैन : महत

‘कोइराला पक्षका गतिविधिहरू अनुशासन बाहिर छ, कारबाहीको दायरामा ल्याइन्छ’


११ आश्विन २०७९, मंगलवार
Prakashsharan mahat
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहका नेताहरूले गरिरहेको गतिविधिहरू अनुशासन बाहिर रहेको र उनीहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

आज (मंगलबार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले पार्टीको अनुशासन र पद्धति विपरीतका भेला तथा संघर्षका कार्यक्रमहरू नगर्न संस्थापन इतरका नेताहरुलाई चेतावनी दिएका हुन् । प्रवक्ता महतले इतर पक्षले आरोप लगाए जस्तो समानुपातिक उम्मेदवारको सूचीमा पक्षपात नगरेको बताएका छन् । उनले समानुपातिक सूची तयार पार्दा छलफल भएन भन्ने कुरामा पनि सत्यता नरहेको दाब गरे ।

डा. शेखर कोइराला पक्षधरले समानुपातिक उम्मेदवारको सूचीमा आफूहरुलाई पाखा लगाएको भन्दै असन्तुष्टि जनाइरहेका बेला कांग्रेस संस्थापन पक्षको यस्तो धारणा आएको हो । ‘यसमा कुनै सत्यता छैन । निणर्य आम सहमतिमा भएको हो’ महतले भने, ‘पदाधिकारी, पूर्वपदाधिकारी लगायत प्रदेश सभापति, अग्रणी नेता सामेल भएर पेस भएको छ । त्रुटि छ तर पक्षपात भएको छैन ।’

उनले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनु पर्ने जसरी केही पनि नभएको बताएका छन् । पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने पार्टीको विधि अनुसार कारवाही हुने बताए ।

सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो । बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने निणर्य गरेको हो । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निणर्य गरेको हो । समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७