प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने


११ आश्विन २०७९, मंगलवार
nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी गरेको छ । मंगलबार आयोगले दलहरुसँग छलफल गर्दै बैज्ञानिक तवरले निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको जानकारी दिएको हो ।

२०७४ को निर्वाचनमा प्रदेश सभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधि सभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो । नयाँ प्रस्ताव अनुसार प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने छन् ।

निर्वाचन क्षेत्रको मतदाता संख्या, निर्वाचन क्षेत्रको भूगोलको क्षेत्रफल र ०७४ देखि ०७९ सालसम्म भएको मुद्रा स्फितिको दरलाई आधार बनाइएको छ । छलफल पछि कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले यसअघिको खर्चको सीमालाई हेरफेर गर्ने बिषयमा छलफल भएको बताए ।

त्यस्तै छलफलमा स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझानेलाई आयोगबाट भएको कारबाहीका विषयमा पनि ध्यानाकर्षण गराएको र आयोगले यसलाई गम्भीररुपमा लिनुपर्ने बताएको उनले बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले खर्चको सीमालाई वैज्ञानिक तवरले अन्तिम रुप दिनुपर्ने सुझाव दिएको बताए। उनले निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा छुट्टाइएको ५ वटा क्लष्टरमा छलफल भएको बताए ।

उनले समयमा नै खर्चको विवरण नबुझाएको सम्बन्धमा आयोगले जारी गरेको सूचनामा पनि छलफल भएको बताए । त्यस्तै छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन खर्चलाई क्लष्टरका आधारमा वैज्ञानिक तवरले टुङ्गाउने छलफल भएको र दलहरुको सुझावका आधारमा खर्चको विषयमा सीमा निर्धारण गर्ने बताए ।

त्यस्तै स्थानीय निर्वाचनको खर्च नबुझाउने विषयमा आयोगले कानुनसम्बत नै निर्णय गरेकाे र कानुनको पालना मात्रै गराएको उनले बताए । स्थानीय निर्वाचनको खर्च नबुझाउने विषयमा आयोगले गरेको निर्णयमा पनि दलहरुसँग पुनः छलफल गरी निकास खोज्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७