उपल्लो डोल्पामा धमाधम उवा भित्र्याइँदै


११ आश्विन २०७९, मंगलवार
Uwa

डोल्पा । ठूलो भूगोल, आधा वर्ष हिउँले ढोकेको प्राकृतिकरुपमा नाकाबन्दी हुने उपल्लो डोल्पाका कृषक बाली भित्र्याउन लागेका छन् । वर्षमा एक बाली मात्र हुने यहाँका स्थानीयवासीले उत्पादन गरेको अन्नले तीन महिना खाना पुग्दैन । जडीबुटी भण्डार रहेको उपल्लो डोल्पा चीनको सीमानामा सँग जोडिएको छ ।

चिसो मौसम र भारी हिमपात हुने भएकाले वैशाखमा लगाएको एक मात्र बाली उवा बल्ल पाकेर भित्र्याउने अवस्थामा पुगेको डोल्पोबुद्ध-१ धो का प्रेमा दोर्जे गुरुङले बताइन् । यहाँ वर्षमा एक मात्र बाली पाक्ने भएकाले खाद्यान्न उत्पादन कम हुने गर्दछ । मङ्सिरबाट चैतसम्म हिमपात जारी रहने भएकाले उपल्लो डोल्पाका तीन स्थानीय तहमा सर्वसाधारण घरभित्र बसेर सङ्कलन गरेर राखेको अन्न उपभोग गर्दछन् ।

हिमपातको बेलामा बाहिरबाट खाद्यान्न आपूर्ति गर्नसमेत मुस्किल पर्छ । यस्तो मौषममा त्यस क्षेत्रका केहि सम्पन्न परिवार बेँसी झर्ने गर्दछन् । वैशाखदेखि मंसिरसम्म यहाँका पाटनमा सङ्कलन गरेको जिम्बु छिमेकी जिल्लासँगै देशका अन्य भागमा बिक्री गरेर दैनिक हातमुख जोड्नको लागि आर्थिक उपार्जन हुने गरेको शे फोक्सुण्डोकी प्रेमा गुरुङले बताइन् ।

तिते फापर सामान्य मात्रामा उत्पादन हुने गरेको गुरुङको भनाइ छ । पशुपालन व्यवसायबाट अर्को आम्दानीको स्रोत बन्दै गएको छ । खाद्यान्न ढुवानीदेखि दूधको लागि चौँरीपालन, मासु र उनका लागि भेडापालन गर्ने उपल्लो डोल्पाका सर्वसाधारण राज्यको लगानी नहुँदा आफूहरु हैरान भएको बताएका छन् । यातायातको पहुँच नभएका कारण अर्को समस्या हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७