शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुंगो लगाउने दाबी


१२ आश्विन २०७९, बुधबार
gathabandan karyadal

काठमाडौं । सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज (बुधबार) बस्ने भएको छ । बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान निर्देशन दिएको छ । बैठकमा अनिवार्य उपस्थित हुन र अन्य कार्यक्रम नराख्न कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा)ले प्रभावशाली पदाधिकारी र नेतालाई आन्तरिक सकुर्लर गरेका छन् ।

पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन् । यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन् । निर्णायक भनेर बुधबार तय गरिएको बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाको क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने भनिएको छ ।

गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ । अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ ।

जसपा र एकीकृत समाजवादीले सिट संख्यामा चित्त बुझाएका छैनन् । कांग्रेसभित्रको तीव्र विवादका कारण आफूले पाउने सिट संख्या बढ्नुपर्ने उसको अडान छ । गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति गराउने प्रयास गरिरहेका छन् । त्यसबाहेक प्रदेश सभातर्फ पनि २२० क्षेत्रमा सहमतिउन्मुख छ । सय क्षेत्रमा एकल मात्र दाबी भएकोले ती क्षेत्रमा विवाद नभएको ती नेताले बताए । मंगलबार बसेको कार्यदलको बैठक प्रदेश सभाका ३३० मध्ये २२० क्षेत्रमा सहमति नजिक पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७