समानुपातिक सूची सच्याउन सभापति देउवा तयार, बालुवाटारमा पदाधिकारी बैठक


१२ आश्विन २०७९, बुधबार
congress 2 scaled
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवारको समानुपातिक सूचीका विषयलाई लिएर पार्टीभित्र आन्तरिक विवाद बढेपछि छलफल गर्न बैठक बसेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएका छन् । मंगलबार साँझ बसेको पदाधिकारी बैठकमा सबैलाई मिलाएर लैजान आफू तयार भएको प्रतिवद्धता जनाएका थिए । ‘अहिले हामी बालुवाटारको छलफलमै छौं’, एक पदाधिकारीले भने, ‘सभापतिले हिजोको बैठकमै सूची सच्याउन तयार रहेको बताउनु भएको छ ।’ कांग्रेसले पाँच दलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने निणर्य गरेको छ । तर, अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुंगो लाग्न सकेको छैन ।

कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई नदोहोर्‍याउने निणर्य गरेको थियो । कांग्रेस विधानअनुसार पनि समानुपातिक सांसद फेरि लगत्तै हुने अर्को चुनावमा समानुपातिकतर्फ सांसद बन्न पाउँदैन । नेपालले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले संघीय संसद् अर्थात प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।

नेता डा. शेखर कोइराला-गगन थापा पक्षका नेताहरुले ४० प्रतिशत उम्मेदवारीको माग गर्दै आएका छन् । समानुपातिक सूची नसच्याए विद्रोह गर्ने चेतावनी पनि इतर समूहले दिँदै आएका छन् । कांगेसको देउवा इतर समूहले भने पार्टीमा न्यायका लागि आवाज उठाउँदा पार्टीले कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् ।

अन्य दललाई सिट दिँदा नेताहरुको टिकट खोसिने भएपछि गठबन्धनको विषयलाई लिएर कांग्रेसभित्र शुरुदेखि नै विवाद रहेको छ । कांग्रेस संस्थापन इतर पक्षधरले बुधबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन्। गत सोमबार बिहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७