शीर्ष नेतासहित बालुवाटारमा कार्यदलको बैठक जारी, सिट बाँडफाँट टुङ्गो लगाउने


१२ आश्विन २०७९, बुधबार
karyadal

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक शुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ ।

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो । ‘गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी छ’, एक नेताले भने, ‘सिट बाडफाट आजै टुंगो लगाउने तयारी छ । घोषणा चाहिँ पछि गरिनेछ ।’

पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन् । यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन् । निर्णायक भनिएको जारी बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाका क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने बताइएको छ ।

गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ । अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए । कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ ।

जसपा र एकीकृत समाजवादीले सिट संख्यामा चित्त बुझाएका छैनन् । कांग्रेसभित्रको तीव्र विवादका कारण आफूले पाउने सिट संख्या बढ्नु पर्ने उसको अडान छ । गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति गराउने प्रयास गरिरहेका छन् । त्यसबाहेक प्रदेश सभातर्फ पनि २ सय २० क्षेत्रमा सहमतिउन्मुख छ ।

सय क्षेत्रमा एकल मात्र दाबी भएकोले ती क्षेत्रमा विवाद नभएको ती नेताले बताए । मंगलबार बसेको कार्यदलको बैठक प्रदेश सभाका ३३० मध्ये २२० क्षेत्रमा सहमति नजिक पुगेको हो । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७