सानेपा धर्ना : किन गएनन् शेखर, गगन र धनराजसहितका शीर्ष नेता ?


१२ आश्विन २०७९, बुधबार
Nepali congress 2

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो । तर उक्त धर्नामा कांग्रेसको संस्थापन इतरका शीर्ष नेताहरु सहभागी छैनन् । कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित भएको अवस्थामा बुधबारका लागि धर्ना तय भएको थियो ।

धर्नामा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र नेता चन्द्र भण्डारी सहभागी छैनन् । धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरु सहभागी छन् । धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसी समेत सहभागी छन् ।

इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ । सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरुको नाम पनि बन्द सूचीबाट हटाएको बताइएको छ ।

यही सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निणर्य गरेको थियो । यो धर्नापछि बिहीबार बत्तिसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी /पूर्व पदाधिकारीबीच छलफल हुने भएको छ ।

कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ । समानुपातिक बन्दसूची सार्वजनिक भएपछि इतर समूहले आन्दोलित छ । इतर समूहले प्रदेश १ को समानुपातिक सूची पनि सच्याउनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७