देउवालाई कोइरालाको चिठी : समानुपातिक सिट पत्नी तथा परिवारलाई दिइने अंश होइन

‘कांग्रेस अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुब्यो कांग्रेस’


१२ आश्विन २०७९, बुधबार
Dinesh Koirala

काठमाडौं : कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेको दाबी गर्दै यस विद्रोह हुने चेतावनी दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरूलाई प्रस्ताव गरिएको भन्दै व्रिदोहको चेतावनी दिएका हुन् ।

नेता कोइरालाले केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षणपत्र लेख्दै भनेका छन्, ‘सुझाबहरूलाई बेवास्ता गरेर पार्टी नेतृत्व अगाडि बढेको अवस्थामा आमकार्यकर्ता तथा जनताले गर्ने विद्रोहको जिम्मेवारी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेका नेताहरूले नै लिनुपर्ने हुन्छ।’

समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश जस्तो नेतृत्वले बनाएको उनको आरोप छ । उनले चिठीमा लेखेका छन, ‘समानुपातिक सिट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने अवस्थामा त्यसविपरित काम गरिएको छ।’

उनले पार्टीभित्र नीतिगत सुधारका लागि छबुँदे सुझाबसमेत पेस गरेका छन्। उनले संघ तथा प्रदेश संसदमा एकाघर परिवार तथा दम्पतीबाट एकजनाभन्दा धेरैलाई अवसर नदिन केन्द्रीय नेतृत्वलाई सुझाब दिएका छन्। नेता कोइरालाले प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसदमा प्रतिनिधित्व गरिसकेकाहरूलाई समानुपातिकको बन्दसूचीबाट हटाउन माग गरेका छन्।

ध्यानाकर्षणपत्र

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई अत्यन्त जरुरी ध्यानाकर्षणपत्र

श्रीमान सभापतिज्यू
नेपाली कांग्रेस
तथा 
सदस्यहरू, संसदीय बोर्ड

महोदयहरू

नेपाली कांग्रेस अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रूपमा सतहमा देखा परेको छ । पूरै देशलाई ठूलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर संकटबाट बाहिर ल्याउन अगुवाइ गर्नुपर्ने थियो । तर नेतृत्व सचेत र गम्भीर नदेखिनु  अत्यन्तै दुःखलाग्दो परिस्थिति हो । 

कांग्रेस अहिले विषम् परिस्थितिबाट गुज्रिरहेको छ। कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रूपमा सतहमा देखा परेको छ। पूरै देशलाई ठूलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर संकटबाट बाहिर ल्याउन अगुवाइ गर्नुपर्ने थियो। तर, नेतृत्व सचेत र गम्भीर नदेखिनु  अत्यन्तै दुःखलाग्दो परिस्थिति हो। 

कांग्रेस समाप्त पार्न र देशलाई संकटमा होम्नका लागि अहिले षडयन्त्रमूलक अप्राकृतिक कुकर्महरु भइरहेको छ। यो अवस्था कुनै पनि देशभक्त नागरिक तथा नेपाली कांग्रेसका इमानदार कार्यकर्ता टुलुटुलु हेरेर बसिरहन सक्दैछ । 

नेपाली कांग्रेसले आगामी आमचुनावमा संघ तथा प्रदेशहरुमा बहुमत ल्याउन आवश्यक छ । बहुमत ल्याउने गरी चुनावी तालमेल गर्न केन्द्रीय समितिको बैठकले निर्देश दिएको तथ्य म नेताहरूलाई स्मरण गराउन चाहन्छु। 

आमचुनावमा कांग्रेसलाई बहुमत ल्याउन नदिने गरी तालमेल गरिँदै छ। कांग्रेसले सय सिटभन्दा थोरैमा प्रत्यक्ष चुनाव लडेर कसरी बहुमत ल्याउन सक्छ ? आमजनताको तर्फबाट उठिरहेको यो प्रश्नको जवाफ मुखबाट नभएर व्यवहारबाट पार्टी नेतृत्वबाट आउन आवश्यक छ। 

हामी आधा सिट अन्य पार्टीहरूलाई दिइरहेका छौँ, बाँकी रहेको आधा सिटमा कस्तालाई उम्मेदवार बनाउँदै छौंँ  ? यो गम्भीर प्रश्न भएको छ । पार्टीले समानुपातिकका लागि प्रस्ताव गरेका नामहरू परिवारवाद, वंशवाद, नातावाद, आसोपासेवाद र अर्थवादबाट प्रेरित भएको स्पष्ट देखिन्छ। 

समानुपातिक सूची आरक्षित सिट हो। आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने हो। त्यसविपरीत समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरूलाई प्रस्ताव गरिएको देखिन्छ। समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरूको ताबेदारीहरूलाई प्राथमिकता दिइएको छ । समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सिट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने अवस्थामा त्यसविपरित काम गरिएको छ।

समानुपातिकतर्फ अंश, वंश र अर्थ प्रेरित उम्मेदवारहरूलाई प्रस्ताव गरिँदा त्यसको दुष्प्रभाव प्रत्यक्षमा लड्ने उम्मेदवारहरूलाई समेत पर्ने देखिन्छ। 

तसर्थ, निम्न नीति अपनाइयोस्–

१– संघ तथा प्रदेश संसदमा एकाघर परिवार तथा दम्पतीबाट एकजनाभन्दा धेरैलाई अवसर नदिइयोस् । 

२– उम्मेदवार प्रस्ताव गरिएकाहरूले पार्टीभित्र जिम्मेवार पदमा आफ्नो नातागोता कोको छन् भन्ने सार्वजनिक रूपमा खुलाउने व्यवस्था गरियोस्।

३– प्रत्यक्षमा उम्मेदवार बन्ने सामर्थ्य भएका, विगतमा संसदमा प्रतिनिधित्व गरिसकेकाहरूलाई समानुपातिकमा उम्मेदवार नबनाइयोस्। 

४– जिम्मेवार पदमा बसेका नेताहरूले आफ्नो परिवार तथा वंशलाई आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरेर अवसर दिने दिलाउने काम नगर्ने सार्वजनिक प्रतिबद्धता गरून्। 

५– प्रस्तावित कैयन उम्मेदवारहरूले अर्थबलमा समानुपातिकमा नाम पार्न सफल भएको भनी जनस्तरमा आक्रोश व्यक्त भइरहेको छ । समानुपातिक उम्मेदवार चयनमा आर्थिक चलखेल भएको सम्बन्धमा एक स्वतन्त्र आयोग बनाएर छानबिन गरियोस्।

६– उम्मेदवार चयन गर्दा वर्गीयतालाई पनि आधार बनाइयोस्। अर्थात्, समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रूपमा विपन्नलाई प्राथमिकता दिइयोस्। 

यी केही नीतिहरू मैले सुझाबका रूपमा प्रस्तुत गरेको छु। यी सुझाव मेरो मात्र नभएर नेपाली कांग्रेसका तमाम निष्ठावान, इमानदार कार्यकर्ताहरूको पनि हो र आमनेपाली जनताको पनि हो भन्ने तथ्यबोध गरियोस् । यी नम्र सुझाबहरूलाई बेवास्ता गरेर पार्टी नेतृत्व अगाडि बढेको अवस्थामा आमकार्यकर्ता तथा जनताले गर्ने विद्रोहको जिम्मेवारी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेका नेताहरूले नै लिनुपर्ने हुन्छ।

धन्यवाद, जय नेपाल
दिनेश कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७