कांग्रेसमा समूहगत रुपमै विद्रोहको तयारी


१२ आश्विन २०७९, बुधबार
Nepali congress 1

काठमाडौं : समानुपातिकको बन्द सूची र प्रत्यक्ष तर्फको टिकट वितरणमा असन्तुष्ट नेपाली कांग्रसको शेखर कोइराला समूहले समूहगत रुपमा मै विद्रोहको तयारी थालेको छ । प्रत्यक्षतर्फको मनोनयन मिति नजिकिँदै जाँदा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति आक्रोशित कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम जारी राखेका छन् ।

कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । गत १० असोजमा ठमेलमा भेला गरेका कोइराला समूहका नेताहरुले बुधबार पार्टी अफिसमा धर्ना दिए ।

धर्ना कार्यक्रममा कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको बताए । उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको बताए ।

केसीले समानुपातिक बन्दसूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे । उनले भने, ‘समान न्याय र अवसरका लागि, पार्टीभित्र सबैलाई न्याय होस्। सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनसाय हो। जुन परिस्थिति सिर्जना भयो। समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो। किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ ।’

१० असोज २०७९ को ठमेल भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी थिए ।

विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमा समूहगत रुपमै विद्रोह गर्ने तयारी गरेका छन् । उनीहरूले असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग माग गरेका छन् ।

कांग्रेसका नेता अजयबाबु सिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए। उनले बन्दसूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने चेतावनी दिए । ‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयासजस्तो देखियो समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आमकार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ।’

धर्नापछि बत्तिसपुतलीमा भेला
धर्ना लगत्तै नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । छलफलमा संघर्षमा उत्रिएका नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भुपेन्द्रजंग शाहीलगायत नेताहरू सहभागी भए ।

कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण शुरु भएको भन्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने चेतावनी दिए । गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरूले पनि कांग्रेसको समस्या बुझ्नुपर्ने भन्दै कांग्रेस कार्यकर्तालाई रुवाएर गठबन्धनका उम्मेदवारले चुनाव नजित्ने उनको चेतावनी छ ।

घिमिरे भन्छन्, ‘म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ,यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन । कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पु¥याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७