दुई महिनामा ५११ किलो सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रहक बाहिरियो


१३ आश्विन २०७९, बिहीबार
gold
सांकेतिक तस्वीर

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ किलो सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ ।

भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ । बितिका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट सुन आएको छ ।

विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ । यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।

पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो । गत वर्षको सेही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७