सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय


१३ आश्विन २०७९, बिहीबार
suki2

म्यानमार । म्यानमारको एक अदालतले पूर्व नेतृ आङ सान सुकीलाई अर्को आपराधिक मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको थप जेल सजाय सुनाएको छ । म्यानमार सरकारले सुकीसँगै अष्ट्रेलियाका अर्थशास्त्री सन टर्नेललाई बिहीबार तीन वर्षको जेल सजाय सुनाएको हो ।

७७ वर्षीया सुकीले पहिले नै २० वर्षको जेल सजाय पाइसकेकी छन् । उनलाई गैरकानूनी रूपमा वाकी-टकीहरू आयात गर्ने र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन, देशद्रोह, चुनावी धाँधली र पाँच भ्रष्टाचार आरोपमा दोषी ठहरिएपछि २० वर्षको जेल सजाय सुनाइएको थियो । त्यसमाथि आज त्यहाँको सैनिक सरकारले थप तीन वर्षको सजाय सुनाएको हो ।
‘सन टर्नेल, आङ सान सुकी र अन्य तीनलाई राज्य गोप्य कानुनअन्तर्गत तीन-तीन वर्षको जेल सजाय सुनाइएको छ’, एक गोप्य स्रोतलाई उल्लेख गर्दै डीडब्लूडटकमले लेखेको छ ।

टर्नेललाई अध्यागमन कानुन उल्लघंन गरेको आरोप पनि लगाइएको थियो । जुन्ता सरकारले सुकीको मन्त्रिपरिषद्का तीन सदस्यलाई पनि दोषी ठहर गर्दै उनीहरूलाई पनि तीन-तीन वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई टर्नेलबाट बरामद गरिएका कागजातहरूको आधारमा अभियोग लगाइएको थियो । सुकी र टर्नेल दुवैले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

सुकीमाथि भ्रष्टाचार नियन्त्रण ऐनअन्तर्गत सातवटा मुद्दा चलिरहेको छ । उनीमाथिका सबै मुद्दा उनलाई सक्रिय राजनीतिबाट टाढा राख्ने प्रयासका रूपमा हेरिएको छ ।

टर्नेलको गिरफ्तारी

अस्ट्रेलियाली नागरिक अर्थशास्त्री टर्नेलले सुकीको सरकार हुँदा सल्लाहकारका रूपमा काम गरेका थिए । त्यसअघि, उनी नेपितावस्थित म्यानमार डेभलपमेन्ट इन्स्टिच्युटका निर्देशकका रूपमा काम गरेका थिए । यता अस्ट्रेलियाली सरकारले टर्नेललाई तत्काल रिहा गर्न जुन्ता सरकारसँग आग्रह गरेको छ ।

‘अष्ट्रेलिया सरकारले प्रोफेसर टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । (यो) आजको अदालतको निणर्यलाई अस्वीकार गर्छ … र उनको तत्काल रिहाइको लागि आह्वान गर्छ’, विदेश मन्त्री पेनी वोङले भने । सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारमा ‘कू’ गरेर सेनाले मुलुक कब्जामा लिएको थियो । त्यहाँको सैनिकलाई जुन्ता भनिन्छ । ७६ वर्षीय टर्नेललाई जुन्ता सरकारले बीबीसीसँगको फोन अन्तर्वार्ताको बीचमा गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७