शेखर समूहको चियापान : टिकट माग्नेको ताँती


१३ आश्विन २०७९, बिहीबार
thumb 5

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो । दसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको समूहको भनाइ छ ।

अनुपम फुडल्याण्ड वत्तिसपुतलिमा भएको कार्यक्रममा कार्यकर्ता कम टिकट आकांक्षीको संख्या उल्लेखनीय थियो । सबैलाई चिन्ता चुनाव लड्न नपाइने हो कि अथवा समानुपातिकमा नपरिने हो कि भन्ने थियो । समानुपातिकमा परेकाहरूमा पनि नाम पछाडि भएको तथा विद्रोही भएका कारणले संस्थापन समूहले नाम पछाडि पारिदिने भय थियो ।

कार्यक्रममा एकैछिन बसेर नेताहरू शेखर कोइराला, धनराज गुरुङ र गगन थापा समूहको रणनीतिक बैठकतर्फ लागेका थिए । चियापानमा समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाल, तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, नेताहरू गुरु घिमिरे, जगदिश्वरनरसिंह केसीलगायत उपस्थित थिए । उनीहरू सबैलाई टिकटबारे आकांक्षीहरुले चासो राखेका थिए ।

तर, चियापान कार्यक्रममा पुगेका केन्द्रीय सदस्य तथा समूहका नेता अर्जुनरसिंह केसीले मंसिर ४ गते हुने निर्वाचनका लागि उमेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको बताए ।

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ । गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नु अहिलेको महत्वपूर्ण दायित्व हो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ’, उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ । एकातिर अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ । यसलाई बचाउन सक्ने हैसियत भएको पार्टी नेपाली कांग्रेस नै हो ।’

‘हामीले न्यायोचित अवसरको वितरणका निम्ति पार्टीलाई भनेका हौँ । त्यही अन्तर्गत यो चियापान हो’, उनले भने, ‘सभापति ज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीको बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निणर्यमा पुग्छौँ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छन् ।’

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समानुपातिकतर्फको उमेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि बिरोधमा उत्रिएको बताए । सूची सच्याउन नसके गठबन्धन अघि बढाउन समस्या पैदा हुने उनको भनाइ छ । पार्टीभित्र संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गरेको भन्दै शेखर समूहका दोस्रो तहका नेताहरु आन्दोलनमा छन् । समानुपातिक टिकट वितरण नभए निर्वाचन प्रकृयामा भाग नलिने तथा विद्रोह गर्ने चेतावनी समूहको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७