नेपालमा हिन्दु-मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको छ : अन्सारी


१३ आश्विन २०७९, बिहीबार
Samim Miya Ansari

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु-मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् ।

आज (बिहीबार) मुस्लिम आयोगको केन्द्रीय कार्यलयमा नै एक कार्यक्रमको आयोजना गरी आयोगले नेपालीहरुको महान चाड बडा दशैँ एवं शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरुमा हिन्दु-मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको बताए ।

उनले हिन्दु-मुस्लिमबीच झगडा नभइ प्रतिगामी तत्वहरुले धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाए । उनले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताए ।

उनले भने, ‘हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरु मिलेर बसेको देश हो । हिन्दु समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ । यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो ।’

उनले थपे, ‘जुन हाम्रो समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्यमा टेवा पुगोस् भनेर कार्यक्रम आयोजना गरेका हौं । हामी सबै नेपाली हौं, मानव हौं । समग्र देशको, नेपालीको हीतको काम हामी सबै मिलेर गर्नुपर्छ । हामी कहीँ कतै सुन्छौँ मुस्लिम-हिन्दुको झगडा भयो रे, त्यो कुनै हिन्दु-मुस्लिमको कुनै द्वन्द्व भएको होइन, केही तत्व र घुसपेठियाहरुको काम हो । जुन हाम्रो सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउने प्रयास भएको छ ।’

अध्यक्ष अन्सारीले नेपाल हुभाषी, बहुजाति, बहुभाषि र बहु सांस्कृतिक देश भएकाले सबैले मिलेर समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्नुपर्ने बताए । आयोगले पहिलो पटक आयोगमा नै कार्यक्रम राखेर नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना दिनु धार्मिक सहिष्णुताको उदाहरण भएको सहभागीहरुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७