निगमको ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ पुनः ‘आइसागो सर्टिफाइड’


१३ आश्विन २०७९, बिहीबार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ सर्भिस’ दिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सेवालाई थप सुदृढ र प्रभावकारी बनाइने जनाएको छ ।

आइसागो अडिटबाट पुनः सर्टिफाइड भएपछि निगमले आज विज्ञप्ति निकालेर ग्राउण्ड हयाण्डलिङ सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको हो । हरेक दुई-दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र यस्तो सर्टिफिकेट प्रदान गरिन्छ ।

निगमका प्रवक्ता अर्चना खड्काले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा यो पटक पनि सर्टिफाइड हुनु निगमका लागि उपलब्धि भएको बताए । निगमको सेवा प्रभावकारी नभएको भन्ने टीका टिप्पणी भइरहेका बेला निगमले यो सेवामा गरेको कामको अन्तर्राष्ट्रियस्तरमा प्रसंशनीय रहेको उहाँको भनाइ छ । कठिन परिस्थिति, सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि निगमले उपलब्धि हासिल गरेकोले आगामी दिनमा थप काम गर्न प्रेरणा मिलेको प्रवक्ता खड्काले बताए ।

‘उपलब्ध सीमित पूर्वाधारका बाबजुद निगमले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएको र यसलाई निरन्तर सुधार गर्दै उत्कृष्ट सेवा प्रदान गर्न निगम दृढ सङ्कल्पित छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सर्भिस निरन्तररूपमा दिँदै आएको छ । सन् २०१६ देखि निगमले ग्राउण्ड ह्याण्डलिङ सेफ्टीसम्बन्धी अडिट गराई आफ्नो सेवालाई अन्तर्राष्ट्रियस्तरको सेवामा मापन गरेको निगमले उल्लेख गरेको छ ।

विगतमा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाको ‘लोड कन्ट्रोल’, ‘प्यासेन्जर एन्ड ब्यागेज ह्याडलिङ’, ‘एयरक्रयाफ्ट ह्याण्डलिङ एन्ड लोडिङ अर्गनाइजेशन एन्ड म्यानेजमेन्ट एयरक्रयाफ्ट ग्राउण्ड ह्याडलिङ मोमेन्ट’ मा आइसागो सर्टिफाइड ‘आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’ भएकोमा हाल ‘कार्गो ह्याण्डलिङ’ सहित ग्राउण्ड ह्याण्डलिङका सबै क्षेत्रहरुमा आइसागो सर्टिफाइड भएको निगमले जनाएको छ ।

आइसागो सर्टिफिकेट इन्टरनेश्नल एयर ट्रान्सपोर्ट एशोसिएसन (आयोटा) ले आवधिकरूपमा समय-समयमा हुने ‘इन्सपेक्सन’ र हरेक दुई-दुई वर्षमा हुने आइसागो अडिटबाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र प्रदान गर्दछ ।

निगमको प्रमुख आम्दानीका रूपमा पनि भूमिस्थ सेवालाई लिइन्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तो सेवा दिइरहेको छ । आगामी सन् २०२३ को जनवरी १ देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा पनि निगमले व्यवस्थापन गर्नेछ ।

उक्त प्रयोजनका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई तयारी थाल्न पत्राचार गरिसकेको प्रवक्ता खड्काले जानकारी दिए । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए३२० जहाज छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७