पहिरोले अवरुद्ध गल्छी-देवीघाट सडक खण्ड अझै खुलेन

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ ।
नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडाँै पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे ।
‘गल्छी-देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूणर्रूपमा अवरुद्ध बनाएको छ ।
सडक खुलाउन ‘गल्छी-रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूणर् बनेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए । पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ ।