लाल मोहम्मद हत्या प्रकरण : ‘रेकी’ गर्ने युवतीसहित तीन आरोपित सार्वजनिक


१४ आश्विन २०७९, शुक्रबार
lal mohamad

काठमाडौं । काठमाडौंको गोठाटारमा गत ४ असोजमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउपछि आज (शुक्रबार) सार्वजनिक गरेको हो । उनीहरु सबैको उमेर २१ वर्षमुनि रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भर्खरै पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका– १५ का १९ वर्षीय रेहान मियाँ, वीरगन्ज महानगपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र मकवानपुरको बकैया गाउँपालिका– १ की २१ वर्षीया सुस्मिता स्याङ्तान छिन् ।

हत्याको घटनाबारे अनुसन्धान गर्न बनेको समितिका प्रमुख समेत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले पक्राउ परेकामध्ये रेहान र महोरम हतियार व्यवस्थापनमा संलग्न रहेको जानकारी दिए ।

एसएसपी भट्टराईका अनुसार सुस्मिता लाल मोहम्मदको रेकीको जिम्मेवारीमा थिइन् । उनले एक महिनादेखि लाल मोहम्मदका हरेक घटनाको निगरानी गरी सूचना प्रवाह गरेको अनुसन्धानबाट खुलेको भट्टराईले जानकारी दिएका छन् । लाल मोहम्मदमाथि गोली प्रहार गर्ने भने अहिलेसम्म फरार छन् ।

सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको ४ असोजमा गोली प्रहार गरी हत्या भएको थियो । शरीरका विभिन्न अंगमा चार गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६ च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए । परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीं छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७