धम्की प्रकरणबारे राजेन्द्र राई : पूर्वाग्रह राखेर धनकुटेली जनतालाई हेपेका कारण सचेत गराएँ

‘म जनताको सेवक हुँ, धनकुटेली जनतालाई हेप्ने जो केही प्रशासक मेरो दुश्मन नै हो’


१४ आश्विन २०७९, शुक्रबार
Rajendra Rai 2

धनकुटा : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका निवर्तमान सांसद राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई दिएको धम्की अहिले चर्चामा छ । नेता राईले बिहीबार दिउँसो ४ बजेर ५३ मिनेटमा आफूलाई फोनमार्फत धम्काएको भन्दै पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतले नेता राईसँगको संवादलाई रेकर्ड गरी विभिन्न सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका छन् । विभिन्न सञ्चार माध्यमहरुलाई अडियो उपलब्ध गराउँदै ‘राजेन्द्र राईलाई सक्नुपर्छ’ भन्दै पौडेलले लबिङ्ग गरीरहेको स्रोतको भनाई छ ।

सांसद राईले नयाँ पेजसँग प्रमुख प्रशासकीय अधिकृतलाई सचेत गराएको स्वीकार गरे । प्रमुख प्रशासकीय अधिकृत पौडेलले राजनीति पूर्वाग्रह र प्रतिशोध राखेर पाख्रीबास नगरपालिकाका जनताहरुलाई हेपेको कारण आफूले बाध्य भएर सचेत गराएको उनको प्रष्टीकरण छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफूलाई सत्तागठबन्धनको नेता रुपमा प्रस्तुत गरेर जनताहरुलाई दुःख दिएको नेता राईको भनाई छ । ‘म जनताको सेवक हुँ । राजनीति पूर्वाग्रह र प्रतिशोध राखेर जनताहरुलाई हेपेका कारण मैले उनलाई सचेत गराएको हुँ । म धनकुटेली जनताहरुको अभिभावक पनि हुँ । धनकुटेली जनतालाई हेप्ने प्रशासक मेरो दुश्मन नै हो ।’

प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक रुपमा गर्नुपर्ने कामहरुमा समेत आस्थाको आधारमा गर्ने गरेको जनताहरुले निरन्तर गुनासो गरेको उनको भनाई छ । ‘पाख्रीबास नगरपालिका मेरो गृह पालिका हो । जनताहरुलाई असाध्यै दुःख दिने गरेको, आस्थाको आधारमा विभेद गरेको गुनासो निरन्तर आइरहेको थियो । मैले यस बारेमा पटक-पटक सचेत गराएँ । तर उनले सत्तागठबन्धनको शक्ति देखाएर जनतालाई हेपिरहे ।’

पौडेलले मेयर, उपमेयरलाई झगडा गराउने, जनप्रतिनिधिलाई पार्टीगत व्यवहार गरेर भत्ता नदिने, सेवाग्राहीसँग पैसा माग्ने लगायत कर्मचारीले गर्नै नहुने काम गरेकोले ज्यादती नगर्न चेतावनी दिएको नेता राईको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफू प्रधानमन्त्री शेरबहादुर देउवा, काग्रेस नेता रामचन्द्र पौडेलको मान्छे भन्दै नेकपा (एमाले)का जनप्रतिनिधिहरुको काम समेत रोक्ने गरेको एमाले धनकुटाको भनाई । यही बिषयमा टेलीफोन संवादमा राईले भनेका थिए, ‘अत्याचार गर्नुभएको छ तपाईंले त्यहाँ। तर म हेर्दैछु, तपाईंलाई कसैले जोगाउन सक्दैन्। तपाईंको शेरबहादुर देउवा, रामचन्द्र पौडेल जो आएपनि जोगाउन सक्दैन। तपाईंलाई मैले भनिदिएको छु, खुरुक्क जाने अब। अर्को कुनै घटना घट्यो भने मलाई नभन्नु। तपाईं दुनियाँ ठाउँमा दादागिरी चलाउने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७