आगामी चुनाव संघीय लोकतान्त्रिक गणतन्त्र र पश्चगामी सोंचबीचको भिडन्त : देव गुरुङ


१५ आश्विन २०७९, शनिबार
dev Gurung

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रणाली (सिस्टम) माथि नै आक्रमण गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रपति भण्डारीले नागरिक विधेयक प्रमाणीकरण नगरेर सिष्टममाथि आक्रमण गरेको आरोप लगाएका हुन् ।

प्रजातन्त्रमा कुनै पनि विषयमा मतभेद र विमत्ती हुनसक्ने भएपनि विधि र प्रक्रिया पूरा गर्नु सबैको दायित्व भएको बताउँदै उनले भने, ‘तर विडम्बना ! राष्ट्रपति विधि र प्रक्रिया अनुसार चल्नु भएन । यसले सिस्टममाथि अट्याक गरेको छ। ’ सिस्टममाथि अट्याक गर्ने कुरा पश्चगामी चिन्तन भएको उनको टिप्पणी थियो । राष्ट्रपतिसहित सबैजना विधि र प्रक्रियामा चल्नैपर्छ’, उनले भने ।

पूर्व कानून्मन्त्री समेत रहेका माओवादी महासचिव गुरुङले राष्ट्रपतिको पछिल्लो कार्यले शक्ति पृथकीकरणको सिद्धान्तमाथि पनि प्रश्न खडा गरेको बताएका छन् । संसदले पारित गरेका विषय राष्ट्रपतिले डेढलक गर्ने, प्रमाणीकरण नगर्ने नगर्दा व्यवस्थापिकाको औचित्यमाथि प्रश्न खडा हुने बताए ।

उनले आगामी दिनमा पनि राष्ट्रपतिले अहिले जसरी नै डेढलक गर्दिए के हुन्छ भन्ने प्रश्न गर्दै थपे, ‘अहिले व्यवस्थापिका (संसद)ले पारित गरेको विषय प्रमाणीकरण गर्दिन भन्नुभयाे । भोलि मन्त्री परिषदले गरेका निर्णय पनि डेढलक भयो भने के गर्ने ? त्यसपछि सरकार कसरी सञ्चालन गर्ने ?।’ राष्ट्रपतिको अहिलेको निर्णयले भविष्यमा पनि खतरा आउनसक्ने तर्फ संकेत गर्ने उनले बताए । आज नागरिकता विधेयक रोक्ने राष्ट्रपतिले भोलि चुनाव पछिको सपथ ग्रहण गर्न जाँदा चुनाव ठीक ढंगले भएन । चित्तबुझ्दो भएन त्यसैले म सपथ खुवाउँदिन भन्नुभयो भने के हुन्छ ?’, उनले भने ।

महासचिव गुरुङले नेपालमा सामन्तवाद पूर्ण रुपमा समाप्त भइनसकेको बताए। भौतिक रुपले सामन्तवाद र राजतन्त्र बिस्थापित भएपनि चिन्तन, सोंच र संस्कारको दृष्टिकोणले सामन्तवाद पूर्ण रुपले बिस्थापित भइसकेको छैन’,उनले भने । राजनीतिक संरचनामा सामन्तवाद र राजतन्त्र बिस्थापित भए पनि संस्कार, संस्कृति, चिन्तन र सोंचमा भने पूर्ण रुपमा बिस्थापित भइनसकेको उनको भनाई थियो ।

महासचिव गुरुङले एमाले अध्यक्ष केपी ओली घोर पश्चगामी नेता भएको टिप्पणी गरेका छन् । पश्चगामी सोंचकै कारण ओलीले दुई-दुई पटक संसद विघटन गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको उनको आरोप थियो । ‘अग्रगामी त परको कुरा । संघीय लोकतान्त्रिक गणतन्त्रको यथास्थितिमा रहने पनि चिन्तन ओलीमा देखा परेन । सोहि सोचका कारण संसद पटक-पटक विघटन गर्ने । संसद ९ महिनासम्म चल्न नदिने । संविधानलाई तोडमरोड गर्ने चिन्तन देखापर्‍यो ।’ उनले भने ।

ओलीको पश्चगामी सोचलाई परास्त गर्न वाम लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरिएको उनको प्रष्टोक्ती थियो । उनले आगामी चुनाव संघीय लोकतान्त्रिक गणतन्त्र कि पश्चगामी सोच बीचको भिडन्त हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७