सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार


१५ आश्विन २०७९, शनिबार
sahuliyat Pasal
फाइल फोटो

काठमाडौं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।

दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौँमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्ने छन् ।

अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । ‘काठमाडौँसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ’, उनले भने, ‘सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनकरुपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ ।’

कम्पनीले एक महिनाको अवधिमा रु पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा रु एक करोड ५० लाखको सामान बिक्री भएको र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

आउटलेट बाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्करुपमा खाद्य वस्तु पु¥याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ ।

सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।

बोका–च्याङ्ग्राको बिक्री नवमीसम्म

सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्याङ्ग्रा काठमाडौँ भित्र्याएको छ । ‘केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन्’, उनले भने, ‘केही आउँदै छन्, दसैँसम्म लक्ष्यअनुसारको खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्छौं ।’

कम्पनीले जीउँदो खसीको मूल्य प्रतिकेजी रु छ सय ८० र च्याङ्ग्राको मूल्य जीउँदो प्रतिकेजी रु एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी रु १० छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्याङ्ग्रा ल्याएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७