आज दशैंको फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै


१६ आश्विन २०७९, आईतवार
fulpati

काठमाडौँ । आज दशैंको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै छ ।
घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ ।

नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् । यस्तै, आज विशेष गरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७