दशैं मनाउन १८ लाखले छाडे काठमाडौं, सुनसान बन्दै सडक


१७ आश्विन २०७९, सोमबार
kathmandu 6

काठमाडौं । यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जानकारी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए । दशैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार गत वर्ष करिब १६ लाख यात्रुले उपत्यका छाडेका थिए । ‘कोभिडपछि उपत्यकाबाट बढी यात्रु यही दसैंमा बाहिरिएका हुन्,’ स्वाँरले भने, ‘सोमबारसम्म १९ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’ यात्रुको चाप बढी हुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । दशैंका लागि गाउँघर जानेको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा गाडीको संख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम भएपछि सडक सुनसान बन्दै गएको छ ।

हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्ने छन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाडौँ उपत्यकाका ठाउँठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकै दिन तीव्र गतिमा गाडी चलाउने १४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउनेविरुद्ध अहिले कारबाही अभियान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७