यसपालि चुनावमा उम्मेद्वार नबन्ने डा. बाबुराम भट्टराईको घोषणा

‘मेरो ठाउँमा अझै सक्षम र जिम्मेवार नेतृत्व पाउनु हुनेछ’


१७ आश्विन २०७९, सोमबार
baburam
फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आसन्न निर्वाचन आफू उम्मेद्वार नबन्ने बताएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् ।

‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनु हुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउने छ । म त्यसका लागि साथमा हुनेछु’, डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर–नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।’

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको उनले दाबी गरेका छन् । केही शुरू भएका आयोजना पूरा हुन बाँकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७