गाउँघर भरिंदै, शहर रित्तिदै


१७ आश्विन २०७९, सोमबार
gadi

गण्डकी । दशैँको टीकाको दिन नजिकिँदै गर्दा पोखराको शहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए ।

दशैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिसहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

दशैँका लागि पोखरामा विगतमा भन्दा कम संख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिद बिक्री भइरहेको छ ।

बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ ।

पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दशैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् ।

मन्दिरमा विधिवत् फूलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उनले जानकारी दिइन । मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७