यी देशमा पनि मनाइन्छ दशैं


१८ आश्विन २०७९, मंगलवार
dashain

काठमाडौं । हिन्दूहरूको महान पर्व दशैं नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टीका तथा आर्शिबाद ग्रहण गर्छन् ।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।

नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पुजा गर्छन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दशैं मनाइन्छ । भारतमा विशेषगरी नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जिलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ । पश्चिम बंगालमा दशैं नव दुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।

आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा १० दिनसम्म दशै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दशैको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो । पुरुष एवं महिलाहरू दुई वटा साना–साना रंगाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन् । त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ ।

कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रिभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रिमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ ।

भारत बाहेक वंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दशैं मनाइन्छ । मनाउने शैलीे केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आरधना गर्छन् । करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दशैं मनाइन्छ । नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दशैं मनाइन्छ ।

वर्मापछि वंगलादेशमा पनि दशैं मनाइन्छ । १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन् । त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दशैं मनाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७