सिट भागबण्डा : सत्ता गठबन्धनमा अझै जुटेन सहमति, आज पनि बैठक बस्दै


२० आश्विन २०७९, बिहीबार
Gathbandhan Top five leader of nepal

काठमाडौँ । सत्ता गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । हिजो (बुधबार) को बैठक पनि विना निष्कर्ष टुङ्गिएको छ ।

गठबन्धन नेताहरु दशैं मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।

कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

प्रतिनिधिसभाको १६५ र प्रदेश सभाका ३३० सिटमा आज हस्ताक्षर गर्ने सम्भावना भए पनि जसपा भने गठबन्धनबाट बाहिरिने सम्भावना बढेको हो । गठबन्धनमा कांग्रेसले ८५, माओवादी ४४, एकिकृत समाजवादी १८ र जसपालाई १५ सिट दिने गरि छलफल चलिरहेको छ । तर, जसपाले भने २५ सिट नदिए गठबन्धन छोड्ने चेतावनी दिइसकेको छ । उसले एक्लै चुनावमा जाँदा समेत १५ सिट जित्ने दावी गर्दै आएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफूलाई २५ सिट नदिए गठबन्धनमा नबस्ने बताइसकेका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग समेत निरन्तर वार्ता गरिरहेका छन् । एमालेले जसपालाई २४ सिट दिने प्रस्ताव गरिसकेको छ । दुवै दलबीच २ नम्बर प्रदेशमा १६–१६ सिटमा चुनाव लड्ने गरि छलफल चलिरहेको छ । बाँकी काठमाडौं ७, मोरङ ५ सुनसरी १ र धनकुटा जसपालाई दिने गरी सहमति हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७