नारायणीको बाढीले सतर्कताको तह पार गर्‍यो, राप्तीमा बहाव बढ्दो

उच्च सर्तक रहन आग्रह, सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन


२० आश्विन २०७९, बिहीबार
narayani river flood AAVkL5wJtN scaled
फाइल फोटो

चितवन । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । ११ मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले दिएको जानकारीअनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।

राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ ।

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलिला मैदानमा बडादशैँको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सव दशहरा मेला स्थगित भएको छ । अविरल वर्षाका कारण बुधबार हुने भनिएको १० औं दिनको रावण बधलगायत कार्यक्रम आजलाई सारिए पनि वर्षा नरोकिएकाले गर्ने या नगर्ने अनिश्चित बनेको सञ्चालक समितिले जनाएको छ ।

समितिका प्रबन्धक भरतकिशोर वैश्यका अनुसार लगातार वर्षा भइरहेको र रामलिला मैदानमा पानी जमेका कारण सबै कार्यक्रम स्थगित गरिएको हो । रामलिला नाटक प्रदर्शनीमा आज ४२ फिटको रावणको पुत्ला दहन गर्ने कार्यक्रम थियो । अहिले रामलिला मैदान पूरै जलमग्न छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७