वर्षा जारी : पृथ्वी राजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध


२० आश्विन २०७९, बिहीबार
pahiro 1

तनहुँ । दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वी राजमार्गका केही ठाउँमा पहिराे गए पनि अधिकांश खण्ड भने सञ्चालनमै छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरो गए पनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ ।

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । ‘उक्त ठाउँमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, अन्य ठाउँमा अवरोध छैन’, उनले भने । वर्षाका कारण पहिरा जाँदा आज नै धादिङको सुरुङमार्ग नजिक बाटो अवरुद्ध भएको थियो । त्यस ठाउँको पहिरो पन्छाएर राजमार्ग सुचारु गराइसकिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनतर्फबाट धादिङ जाने बाटोमा कुनै अवरोध नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको सत्र किलोमा खसेको पहिरो हटाएर राजमार्ग यथावत सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए । ‘चितवनतर्फ र धादिङतर्फ जाने बाटो दुईतर्फी सञ्चालनमा छ’, उनले भने ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा भने केही अवरोध नरहेको तनहुँ प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पहिरा खस्ने सम्भावना भएकाले पहिरा पन्छाउन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आरके सुनारले जानकारी दिए । उनका अनुसार डुम्रे–वेँसीसहर सडकखण्डमा पनि अवरोध छैन । ‘पानी निरन्तर परिरहेकाले पहिरा जान सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरेका छौं’, उनले भने ।

ग्रामीण सडकहरु अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षाका कारण पहिरा जाँदा तनहुँका केही ग्रामीण सडकहरु अवरुद्ध भएका छ्न् । निरन्तरको वर्षाका कारण पहिरा जाँदा दसैँमा सर्वसाधारणलाई समस्या भएको छ । पहिराका कारण तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी हुँदै जाने ग्रामीण सडक बगाएको स्थानीयवासी शिवकुमार आलेले जानकारी दिए । भिमाद नगरपालिका–१, २ र ३ लाई जोड्ने छोटो बाटो पहिरोका कारण अवरुद्ध भएको छ । ‘बाटो अवरुद्ध हुँदा दसैँमा टीका लगाउन जानेहरुलाई समस्या भएको छ’, उनले भने ।

पहिरोका कारण ऋषिङका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका–७ साङखोल्सीमा पहिरा जाँदा सडक अवरुद्ध भएको स्थानीय दानबहादुर श्रेष्ठले जानकारी दिए । ‘पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ’, उनले भने । घिरिङ गाउँपालिका–३ खिलाका दुई ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । गाउँपालिका कार्यालय र मानपुरको बीचमा गएको पहिरो हटाउन गाउँपालिकाले मेसिन लगाउन सुरु गरेको गाउँपालिकाका प्रेस संयोजक अन्जान परियारले जानकारी दिए । ‘पहिरो पन्छाएर बाटो पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ’, उनले भने ।

निरन्तर वर्षा भइरहेकाले बाढीपहिराको जोखिम हुने हुँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । बाढीपहिरा गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७