तीन प्रदेशमा अति भारी बर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने


२१ आश्विन २०७९, शुक्रबार
rain

काठमाडौं । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले जनाएका छन् । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (शुक्रबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७