थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा २४ बालबालिकासहित ३७ को मृत्यु


२१ आश्विन २०७९, शुक्रबार
thailand shooting 2022 10 06 11 19 55

काठमाडौं । थाइल्याण्डमा एक पूर्व प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ३७ जनाको ज्यान गएको छ । थाइ मिडियाले उल्लेख गरे अनुसार बिहीबारका दिन ती पूर्व प्रहरीले एउटा शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चलाएका थिए ।

घटनामा २४ बालबालिकाहरुसहित ३७ जनाको मृत्यु भएको छ । मृतकहरुमा गर्भवती महिलादेखि दुई वर्षका बच्चा समेत छन् ।
थाइल्याण्डको उत्तरी प्रान्त नान्गबुआ लम्फूमा रहेको एउटा बालबालिका स्याहार केन्द्रमा ती व्यक्तिले गोली चलाएका थिए ।

प्रहरीले जनाए अनुसार, उच्च शिक्षा लिएका ती व्यक्ति केही समयअघि प्रहरीमा भर्ना भएका थिए । तर उनी सेवामा रहेकै बेला लागु औषध ओसारपसारमा संलग्न देखिएपछि उनीमाथि कारबाही गरिएको थियो । प्रहरीबाट निकाला गरिएपछि उनी पूर्णकालीनरुपमा लागु औषधको कारोबारमा लागेको बताइन्छ । यही आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा समेत चलिरहेको प्रहरीले जनाएको छ ।

मानसिक तनावमा रहेको बताइएका ती व्यक्तिले बिहीबार शिशु स्याहार केन्द्रमा गोली चलाएका थिए । लगत्तै उनले श्रीमती र आफ्नै छोरालाई समेत गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका छन् ।

उनी मोष्ट वान्टेड सूचीमा रहेको बताइन्छ । गोली चलेको बेला स्थानीय प्रहरी अधिकारी नजिकै काममा थिए । उनका अनुसार, गोली चलेको बेला कतै पटाका पडकिरहेको जस्तो आवाज सुनिएको थियो । दिउँसो दुई बजे शिशु स्याहार केन्द्रमा पुगेका ती व्यक्तिले सबै बच्चामाथि गोली चलाएका थिए ।

घटनामा केही बालबालिका भने सुतिरहेकोले बाँचेको बताइएको छ । गोली चलाउँदा उक्त केन्द्रमा खाना खाने समय भएको थियो । ती व्यक्तिले स्टाफमाथि गोली चलाएपछि शिशुहरु आराम गरिरहेको कोठामा पसेर गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७