वालिङका पाँच घर पहिरोको जोखिममा


२१ आश्विन २०७९, शुक्रबार
pahiro 3
फाइल फोटो

स्याङजा । अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।

आज दिउसो ३ बजे घरमुनिबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उनले बताए । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन् ।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताए । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई छिमेकीको घरमा सारिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने/नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगर प्रमुख खाँणले बताए । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७