वर्षाले यस वर्षको दशैं खल्लो


२१ आश्विन २०७९, शुक्रबार
rain

तनहुँ । गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले नेपालीहरूको महान् पर्व बडादशैंको रौनक बढ्न सकेन। चाडपर्वको समयमा आफन्त,इष्टमित्र र मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन वर्षाका कारण कठिनाइ भएको व्यास–१० निवासी तुलबहादुर सुनारले बताए ।

अविरल वर्षाकै कारण ससुराली घर चितवन जान समेत रोकिनुपरेको उनको दुखेसो छ । जाउँजाउँ त लागेको छ तर लामो दूरीको सडक र ठाउँठाउँमा पहिरो खस्ने चिन्ताले जान नसकिएको सुनारले बताए । कोरोनाका कारण तीन वर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरूले यस वर्ष दशैं हर्षोल्लास र उमंगका साथ मनाउने सपना देखे पनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिंदा पिङ खेल्न, रमाइला ठाउँहुँदि घुम्न नपाइएको व्यास–२ निवासी एवं सञ्चारकर्मी विकास खनालले बताए । दशैंको दिन टीका र जमराका साथै नयाँनयाँ कपडा लगाएर मान्यजनको हातबाट टीका थाप्न जान वर्षाका कारण समस्या भएको उनको भनाइ छ ।

अविरल वर्षाले दशैंमा पिङ खेलेर रमाइलो गर्ने र साथीसँग भेटघाट गरी कुराकानी गर्ने अवसरबाट वञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ । उनी भन्छिन्, ‘अघिल्ला वर्षको चाडपर्व कोरोना संक्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यस वर्ष पनि मौसमले साथ नदिंदा खल्लो भएको छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७