बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति


२२ आश्विन २०७९, शनिबार
DhrubasagarSharma Galkot RSS 21 dhalekodhan

म्याग्दी । विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन् । बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन् । केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क समेत विच्छेद भएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

वर्षा रोकिएपछि मात्रै बाढीले पुर्‍याएको क्षतिको यकिन हुने जनाइएको छ । म्याग्दीमा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जा भौगोलिकरुपमा विकट छ । चार दिनदेखिको वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी–दरबाङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ । अविरल वर्षाका कारण बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो । असोज महिनामै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयवासीको भनाइ छ । गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताए ।
‘गाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवनमा असर पारेको बनाएको छ’, उनले भने ।

ग्रामीण सडक अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दसैँमा टीका लगाउन र आशिर्वाद लिन जाने आउनेको विजोग भएको छ । छाता र प्लाष्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ ।

ग्रामीण सडक मात्रै होइन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकलगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन् । चार दिनदेखिको अविरल वर्षाले दसैँका टीका लगाउन र आशिर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीयतहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

मूल फुटे, खोला बढे, छहरा र झरना देखिए

मध्यअसारको लक्षण असोजको अन्तिम सातामा देखिँदा स्थानीयवासीले अचम्म मानेका छन् । असारमा पानी नपरेर कमिला हिँडेका खोला र खहरे अहिले वारपार गर्नै नसकिने गरी उर्लिएका छन् । असारमा नभएको बाढी र पहिराको त्रास असोजमा खेप्न बाध्य भएको बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

‘असारमा मूल नफुटेर रोपाइँ गर्न पानीको हाहाकार भयो, अहिले पन्छाउनै नसकिने गरी पानी परेको छ, मूल फुटेका छन्’, उनले भने । त्यसैगरी असारमा नदेखिएका झरना र छहरा असोजको अन्तिम साता देखिएका छन् । पाक्ने बेलाको धान खेत पानीले भरिएको छ भने घरभित्र समेत पानी पसेर स्थानीयवासी बस्नै नसक्ने अवस्थामा पुगेका छन् ।

सडकमा चल्दैनन् गाडी, खोलो बग्छ

दसैँको बेला भए पनि म्याग्दीका ग्रामीण सडक सुनसान छन् । सडकमा गाडी चल्ने अवस्था छैन । खोलो बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै पैदलयात्रा गर्न बाध्य छन् । सदरमुकाम बेनी बजारदेखि ग्रामीण भेगमा सञ्चालित सडकको अवस्था अत्यन्त दयनीय बनेको छ । सडकमा भेल बगेको छ भने सडक लच्किएर पैदल हिँड्नसमेत समस्या भएको स्थानीय रामबहादुर विकले बताए ।

म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात वटा सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण भएको छ । बेमौसमी वर्षा, बाढी पहिरो र मर्मतसम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने सडकमै पोखरी बन्ने गरेको छ ।

बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरङ्जा, बेनी–भकुण्डेलगायत सडक दयनीय अवस्थामा छन् । प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय रहेको छ । यहाँका कतिपय सडकमा सामान्य पानी पर्दा पनि मोटरसाइकलसमेत गुड्न नसक्ने स्थानीयवासी राजकुमार सुवेदीले बताए ।

बेनी–भकुण्डे सडकको अवस्था झन दयनीय रहेको सो सडकबाट दैनिक आवतजावत गर्नुहुने खबराका शोभित सापकोटाले बताउनुभयो । पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकल समेत चलाउन नसकिने उनको भनाइ थियो ।

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् ।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ । जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७