गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध


२३ आश्विन २०७९, आईतवार
bijuli
सांकेतिक तस्वीर

म्याग्दी । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

परियोजना बन्द हुँदा दुई सय ५० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । मोबाइल फोन सेवा समेत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । झरीसँगै गुर्जा आसपासका डाँडामा हिमपात भएर सेताम्मे बनेको वडाध्यक्ष छन्त्यालले बताए । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बाहुल्य बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम बस्ती हो । हालसम्म सडक यातायातको सुविधा नभएको गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन पैदलयात्रा गर्नुपर्छ ।

विद्यालय भवन भत्कियो

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुईकोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिराले भवनको छानो र पर्खाल भत्किएको जानकारी दिए । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु ३६ लाखको लागतमा हालै भवन बनाएका थियौं’, उनले भने, ‘भवन भत्किँदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।’

सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुईवटै कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । दलित समुदायको बाहुल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा दुई सय २६ जना विद्यार्थी छन् । चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनाइएको थियो ।

नयाँ भवन भत्किँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको प्रअ ठाकुरले बताए । यसैगरी बर्षातका कारण रघुगङ्गा गाउँपालिका–३ फूलबारीमा एकवटा घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर भत्किएको वडा सदस्य जीतबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७