अत्यधिक वर्षाले किसानलाई नोक्सानी


२६ आश्विन २०७९, बुधबार
SA Surkhet DubanChhetrae

बागलुङ । अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीखोलाको कागती र किबीखेतीमा क्षति पुर्‍याएको छ भने राम्रो धानबाली हुने क्षेत्रमा केही धान ढलेको पाइएको छ ।’

निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मीको किबी फार्ममा बाढी पसेर क्षति पुर्‍याएको छ भने निसीखोलाकै रमिलाल क्षेत्रीको कागतीको बगैँचा बगाएको छ । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ ।

अत्यधिक वर्षाका कारण धानबाली ढलेको कृषकले बताएका छन् । बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा लगातार परेको वर्षाका कारण हिउँदे बालीमा क्षति पु¥याएको छ । बाला पसाउन लागेको धान र कोदोबाली तथा तरकारी बालीमा नोक्सानी पुर्‍याएकोे जैमिनी–१० किटेनीका नरबहादुर छन्त्यालले बताए । बागलुङमा गत वर्ष पाँच हजार आठ सय ५० हेक्टर जमिनमा धानखेती गरिएको थियो भने यो वर्ष छ हजार हेक्टर जमिनमा धानखेती गरिएको छ ।

ठूलोगाउँका छ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए ।

स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताए ।

‘असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौं’, दर्जीले भने, ‘घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।’

घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७