मौसममा सुधार आएपछि म्याग्दीमा पर्यटकको चहलपहल


२७ आश्विन २०७९, बिहीबार
tourist

म्याग्दी । मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।

दसैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन् । यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएपछि म्याग्दी हुँदै मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटक पनि बढेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले जानकारी दिए ।

उनका अनुसार दैनिक एक सयको हाराहारीमा विदेशी र त्यतिकै संख्यामा स्वदेशी पर्यटक घोडेपानी पुनहिल भ्रमणमा आउन थालेका छन् । हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न वसन्त र शरद ऋतुमा समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटक आउने गर्छन् । पोखरादेखि नजिक भएको हुनाले यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसम सुधार भएसँगै घुमघाममा निस्किन थालेका हुन् ।

दसैंपछि पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताए । निरन्तरको भारी वर्षाका कारण यसपालि दसैं बिदामा निस्केका पर्यटक प्रभावित भए पनि दुई दिनयता मौसममा हलुका सुधार आएसँगै पर्यटकको आगमन बढ्न थालेको उनले बताए ।

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुशी भएर फर्कने गरेको गुरुङले बताए । पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने २० भन्दा बढी हिमचुचुरालाई नजिकैबाट नियाल्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७