मुख्यमन्त्री राउतले मागे गठबन्धन दलका मन्त्रीहरुको राजीनामा


२८ आश्विन २०७९, शुक्रबार
lalbabu raut 1

जनकपुरधाम । केन्द्रमा सत्ता गठबन्धनले आफ्ना मन्त्री हटाएपछि जसपाले त्यसको बदला आफ्नो नेतृत्वमा रहेको मधेस प्रदेश सभा सरकारबाट लिने तयारी अगाडि बढाएको छ ।

प्रधानमन्त्री देउवाले संघ सरकारमा रहेका जसपाका चार मन्त्री हटाएसँगै मधेस प्रदेशमा जसपाबाट मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

‘मुख्यमन्त्री ज्यूले सबै मन्त्रीलाई फोन गर्नु भएको छ । केन्द्रमा तपाईंको गठबन्धनले हाम्रो मन्त्री हटायो । हाम्रो पनि प्रदेशमा त्यही निर्णय हो । तपाईंहरूले रिजाइन गरिदिए राम्रो हुन्छ । होइन भने निर्णय त हामी गर्छाैँ । हाम्रो गठबन्धनको निर्णय पनि त्यस्तै हुन्छ भन्नु भएको छ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले भने । आफूले मुख्यमन्त्रीलाई बिहान निर्णय दिने भनेको उनले सुनाए । ‘दलका नेता बिहान बस्छौँ । राजीनामा गर्ने कि हटाउन दिने भनेर निर्णय गर्छाैँ,’ कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले भने ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले पनि राजीनामाबारे बिहान निर्णय हुने बताए । राजीनामाका लागि केन्द्रबाट कुनै निर्देशन आइनसकेको उनले जानकारी दिए । एकीकृत समाजवादीका नेता रहेका कानुनमन्त्री प्रमोद यादवले पनि हालसम्म राजीनामा बुझाउने निर्णय भइनसकेको बताए ।

मधेस प्रदेश सरकारमा १० जना मन्त्री र चार जना राज्यमन्त्री छन् । जसमा जसपाबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसका तीन, माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री छन् । सत्तागठबन्धनका नौजना मन्त्रीको पद धरापमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७