बाढीले पुल भत्काएपछि हुलाकी सडक खण्ड अवरुद्ध


२८ आश्विन २०७९, शुक्रबार
pul babai

बाँके । पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन् । बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना सवारीसाधान आवातजावत पूर्णरूपमा बन्द छ ।

बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुल समेत बाढीले बगाएको छ । उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए । उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो ।

आठ हजार घर परिवारलाई १२ करोड राहत वितरण

बर्दियामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन् । अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए । गेरुवा र राजापुरमा कर्णाली नदीको बाढी पस्दा सात सय घरपरिवारमा विस्थापित भएका छन् । कोही स्कुल त कोही आफन्तकहाँ बसेका छन् ।

बाढीबाट आठ हजार घरपरिवारलाई प्रतिघरपरिवार रु १५ हजारका दरले कुल रु १२ करोड नेपाल सरकार र विश्व खाद्य कार्यक्रमबाट राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका कर्णालीको बाढी प्रभावितलाई राहत वितरण गरिएको प्रजिअ वाँस्तोलाले बताए ।

त्यसैगरी बाढीबाट घरहरू बगाए पनि मानवीय क्षति हुनबाट भने आफूहरूले जोगाएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । करिब ३५ घर पूर्णरूपमा बगाएको छ भने तिनका परिवारलाई तत्काल रु १५ हजारका दर रकम वितरण गरिएको उनले बताए ।

सदरमुकाम गुलरिया आउने बारबर्दियाका स्थानीयवासी बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका र मधुवन नगरपाललिका घुमेर आउनुपरेका कारण निकै सकस भएको बारबर्दिया–११ निवासी विक्रम चौधरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७