महोत्तरीमा स्वतन्त्र र बागी उम्मेदवारका कारण चुनावी समीकरण रोचक


२८ आश्विन २०७९, शुक्रबार
Mahotari chunab mangsir 4

महोत्तरी । दलबाट स्वतन्त्र उम्मेदवार दिएका लोकप्रिय युवा नेताहरूका कारण क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बनेको छ ।

माओवादी केन्द्रबाट बागी बनेका राजन ढुंगाना, विष्णु लामा, एमालेका प्रमोद महतो, फाल्गुन सुस्लिङ मगर, कांग्रेसबाट पोषण थापा, युवराज पोखरेलहरूको स्वतन्त्र उम्मेदवारीले चुनावी समीकरण रोचक हुने देखिएको हो । विशेष गरी क्षेत्र १ क मा उम्मेदवारी दिएका राजन ढुंगाना र फाल्गुन सुस्लिङ मगरको उम्मेदवारीले निक्कै चर्चा बटुलेको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका फाल्गुन सुस्लिङ मगर र राजन ढुंगाना पूर्व सहकर्मी पनि हुन् । पार्टीका गतिविधि र सांगठनिक निर्माणमा पार्टीभित्र छुट्टै पहिचान बनाएका नेताद्वय चुनावी प्रतिस्पर्धामा होमिनुले फरक ढंगले हेरिएको छ । एमाले प्रवेश गरेर खासै सहज महसुस नगरेका मगर र ढुंगानाको रणनीतिअनुसार नै स्वतन्त्र उम्मेदवारी दिएको हुनसक्ने कतिपयको आकलन छ ।

पोषण थापा र युवराज पोखरेलले पनि चुनावी रणनीतिलाई तीव्र बनाएका छन् । यसअघि बर्दिबास नगरपालिकामा उनीहरूकै समर्थनमा प्रल्हादकुमार क्षेत्री विजयी भएका थिए । झण्डै १४ हजार मत ल्याएर निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार मतले पछि पार्दै क्षेत्रीले स्थानीय निर्वाचनमा जित हासिल गरेका थिए । उनीहरूले सोही मतलाई पनि आकलन गरी रणनीति बनाएका छन् ।

स्वतन्त्रको लहरले दल र गठबन्धनका साझा उम्मेदवार भने ओझेलमा परेका छन् । एमालेकी शारदा थापालाई प्रदेश क मा बागी तथा स्वतन्त्र उम्मेदवारले चुनौती थपेको छ । सत्तारुढ गठबन्धनमा पनि बागी उम्मेदवारी दर्ता भएको छ । गठबन्धनवाट साझा उम्मेदवारी भएको दाबी गर्दै एकीकृत समाजवादीबाट सुरेश राउत र लोसपाबाट पिताम्बर महतो प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७