‘माओत्सेतुङ चिनकाङसाङ फर्की आए’ भन्दै भावुक बने प्रचण्ड


२८ आश्विन २०७९, शुक्रबार
prachanda gorkha

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्के जस्तै भएको बताएका छन् ।

आज (शुक्रबार) गोरखा सदरमुकाममा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘जनवादी क्रान्ती भयो, समाजवादी क्रान्ती पनि अघि बढेकै हो, तर फेरि पार्टीभित्र समस्या, घेराबन्दी, शंका आदि इत्यादी, सबैबाट पार पाउन फेरि एक चोटी ।’ यत्ति भन्ने वित्तिकै प्रचण्ड निकै भावुक बने । उनको बोली रोकियो । सम्हाल्दै उनले थपे ‘म फेरि चिनकाङसाङ आएँ ।’

करिब ४०-४१ वर्षपछि माओत्सेतुङ चिनकाङसाङ फर्के जस्तै आफू गोरखा आएको उनले स्मरण गरे । २२ वर्षको छँदा गोरखामा अध्यापन गराएका उनले भूमिगत पार्टी हेडक्वाटर र पहिलो सैन्य तालिम लिएको गोरखामा आफू ४० वर्षपछि फर्किएको बताए । गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम र पालुङटारमा हेडक्वाटर राखिएको सम्झँदै उनले फेरि आफू त्यही ठाउँ गोरखा २ आएको बताए ।

पार्टीमा बिभिन्न खालका समस्या, देशमा बिभिन्न खालका समस्या पैदा भएपछि चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माउत्ससेतुङ चिनकाङसाङ गएका थिए । माओको प्रसङ्ग जोड्दै प्रचण्डले देशमा समस्या, सरकारमा समस्या, चारैतिरको घेराबन्दी, साम्राज्यबादसँगको घेराबन्दी सबैलाई तोड्नु पर्ने आवश्यकताको परिस्थितिमा माओ चिनकाङसाङ गएको उल्लेख गरे । त्यहाँ युद्धको तयारी शुरुवात भएको बताउँदै भने ‘युद्ध भया,े शान्ति भयो, संविधान सभा भयो, गणतन्त्र भयो तर फेरि हामीलाई चाहिए जस्तो पार्टी अहिले हामीसँग छैन ।’

धेरथोर सबै संसदबादको संसर्गमा केही न केही मैलाधैला भएको बताउँदै उनले कार्यकर्तासँग भने ‘पार्टी जनताको, श्रमजीविको, उत्पीडितको, बर्गको नेतृत्व गर्ने पार्टी जस्तो छैन ।’ अरु संसदवादी जस्तै हुने हो कि भन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको उनले बताए । ‘त्यसकारण मैले तपाईहरुको बीचमा आउने कुरालाई गोरखा २ र १ भन्ने दिमागमा त्यति छैन, गोरखा आउने कुरा मुख्य हो ।’ माओवादी इतिहासको थालनी भएको बलियो ठाउँ गोरखामा आफू आएको उनले बताए ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा एउटा नयाँ पार्टी रुपान्तरणको आवश्यकताको महसुस गरिएको बताउँदै उनले भने, ‘भन्न त हामीले अहिले पनि क्रान्तिकारी कुरा गरेका छौँ, माक्सबाद लेनिनबाद माओवादकै कुरा गरेका छौँ तर हाम्रो सकारात्मक भन्दा नकरात्मकतातिर गएको छ ।’

बिचार सिद्धान्त र आदर्श अनुसारको कार्यशैली बनाउने, आवरण बनाउने, कामको शुरुवात कहाँबाट कसले गर्ने भन्ने कुरा मुख्य भएको उनले बताए । निर्वाचनमा गोरखाबाट निकाल्ने परिणाम ऐतिहासिक हुने उनले बताए । गोरखामा माओवादीले धेरै स्थानीय तह जित्नु पनि आफू गोरखा आउने एउटा आधार बनेको अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले पालिका अत्याधिक जितेर पनि फेरि अध्यक्षलाई चिनकाङसाङ फर्काउने बातावरण बन्या हो कि जस्तो लाग्छ’ उनले भने ।

बर्तमान परिस्थितिको पेचिलोपन, जटिलता, प्रतिक्रियावादीको गतिविधिको अध्ययन गरेर पनि आफू गोरखा आएको उनले बताए । ‘गोरखा जानु उचित छ, त्यसले मात्र पार्टी निर्माणलाई नयाँ ठाउँमा उठाउन सकिन्छ, समाजबादको गोरेटो खन्न सकिन्छ भनेर आएको हुँ’ प्रचण्डले भने ।

आफू गोरखा आउने कुराले चितवनमा दुई÷चार दिन आतंक मच्चिएको बताउँदै उनले गठबन्धनका मात्र नभएर एमालेका जनप्रतिनिधि पनि चितवनबाटै चुनाव लड्न जिताउने जिम्मा लिएर बालुवाटार पुगेको बताए । गोरखा आउने कुराले परिवारभित्र विशेषतः भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको ‘मुड अफ’ भएको बताउँदै उनले सामाजिक सञ्जालमा आएका केही पोष्ट भावनामा उडेर आएको संज्ञा दिए । आफू गोरखा आउने विषय जित या हारसँग सम्बन्धित नभएको बताउँदै उनले भने ‘पार्टी निर्माणको निम्ति, रुपान्तरणको निम्ति, क्रान्तिकारी बीउ बचाईराख्न गोरखा जानु पर्छ भन्ने सोंचले आएको हुँ ।’

आफू गोरखा आउँदैमा चितवन बिर्सने भन्ने कुरा नहुने बताउँदै उनले थपे, ‘रोल्पा, सिराहा, काठमाडौं पनि बिर्सने भन्ने हुँदैन ।’ गोरखा जाँदा ठूलै खैलाबैला हुन्छ कि भन्ने सोंचेको तर अहिले गठबन्धन दल, पार्टीभित्र पनि बिस्तारै खुशी हुँदै र जनता पनि खुशी भएको उनले बताए ।

मंसिर ४ गते हुने निर्वाचनमा टिकट बितरणका विषयमा गोरखाका कार्यकर्ताबीचको असन्तुष्टिलाई थुमथुम्याउँदै उनले भने, ‘केही कमजोरी भए सच्याइन्छ, म तपाईहरु सँगै छु ।’ माओ चिनकाङसाङ् फर्के जस्तै नयाँ इतिहास निर्माण गर्ने अवसर आएको र नयाँ संकल्प, अनुरोधसहित शान्तिपूर्ण क्रान्तिको बाटो अघि बढ्नु आजको आवश्यकता रहेको अध्यक्ष प्रचण्डले बताए । गोरखा २ बाट उम्मेदवार बनेका उनले गोरखाको बिकासका लागि बेनिघाट लार्के (तिब्बत जोड्ने सडक) बूढीगण्डकी जलविद्युत आयोजना, जडिवुटी प्रशोधन, यहाँको कृषि क्षेत्रको बिकासलाई गोरखा १ र २ नभनी सिङ्गो जिल्लालाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७